मिति: २०८१/११/१६
श्री प्रधान सेनापति ज्यू, जङ्गी अड्डा, भद्रकाली, काठमाडौँ।
विषय: देशको वर्तमान परिस्थिति र नागरिकको अपेक्षा सम्बन्धमा।
आदरणीय प्रधान सेनापति ज्यू, सर्वप्रथम, नेपाली सेनाको गौरवमय इतिहास र यसले राष्ट्रिय अखण्डता एवं सार्वभौमसत्ता रक्षार्थ खेल्दै आएको वीरतापूर्ण भूमिकाप्रति म एक सचेत नागरिकको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु।
आज देश एउटा कठिन र तरल परिस्थितिबाट गुज्रिरहेको महसुस गरिरहेको छु । विदेशी शक्तिहरूको बढ्दो प्रभाव र आन्तरिक अस्थिरताका बीच आम नेपाली जनतामा एक प्रकारको अन्योल र चिन्ता व्याप्त छ। यस्तो अवस्थामा, नेपाली सेना नै यो देशको अन्तिम भरोसाको केन्द्र र अभिभावक हो भन्नेमा अटल विश्वास छ। मेरो दृढ मान्यता छ कि नेपालको मौलिक पहिचान, सनातन हिन्दू राष्ट्रको गौरव र राजसंस्थाको अभिभावकत्व नै यो देशको स्थिरताका मुख्य आधार स्तम्भ हुन्।
आजको यो संकटपूर्ण घडीमा म यो कुरा जोड दिएर भन्न चाहन्छु कि अब देशमा राजसंस्थाको पुनरागमन अपरिहार्य भइसकेको छ। राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले रगत र पसिनाले एकीकरण गरी निर्माण गरिबक्सेको यो पवित्र भूमि उहाँकै वंशले मात्र जोगाएर राख्न सक्छ भन्नेमा हामी आम जनताको अटुट विश्वास छ।
दलीय स्वार्थ र विदेशी हस्तक्षेपले देशको अस्तित्व नै खतरामा परेको बेला, सेनाले अब ढिला नगरी मुलुकमा राजसंस्था स्थापना गर्न र राष्ट्रिय एकता कायम राख्न ठोस अग्रसरता लिनुपर्ने बेला आएको छ। इतिहासको हरेक कठिन मोडमा नेपाली सेनाले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएर आफ्नो धर्म निभाएको छ। आज फेरि एकपटक इतिहासले सेनासँग त्यही साहस र अभिभावकत्वको अपेक्षा गरेको छ। राजा र जनताको यो पवित्र सम्बन्धलाई पूनर्जीवित गराई "जय देश, जय नरेश" को संकल्पलाई साकार पार्न यहाँको नेतृत्वदायी भूमिका ऐतिहासिक हुनेछ।
सेनाले सदैव राष्ट्रको सर्वोपरि हित र जनताको चाहनालाई शिरोधार्य गर्दै आएको छ। वर्तमान समयमा पनि सेनाले आफ्नो गरिमालाई कायम राख्दै, देशलाई जोगाउन र जनताको भावना बमोजिमको मार्ग प्रशस्त गर्न उचित कदम चाल्नेछ भन्ने अपेक्षा राखेको छु।
हामी जनता देशमा वास्तविक शान्ति र स्थिरता चाहन्छौँ। सेना र जनताको बलियो एकताले मात्र बाह्य हस्तक्षेप र आन्तरिक विग्रहलाई परास्त गर्न सक्छ। 'जय जय गोरख, जय जय काली' को मन्त्र जपेर राष्ट्र रक्षामा होमिएका सिपाहीहरूको रगत र पसिनाले सिञ्चित यो धर्तीलाई जोगाउनु हामी सबैको साझा धर्म हो। त्यसैले वर्तमान राजनीतिक अस्थिरता र वैदेशिक हस्तक्षेपको अन्त्यका लागि राजसंस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्रको पहिचान नै निर्विकल्प समाधान भएकाले अब ढिला नगरी निर्णायक कदम चाल्नहुन आह्वान गर्दै तपाईँको सफल कार्यकाल र नेपाली सेनाको विजय यात्राको कामना गर्दछु।
राष्ट्रभक्ति र सम्मानका साथ,
................................
अनुपमा जोशी
एक देशभक्त नेपाली नागरिक।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved