काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ। २०८३ साउन २९ गते एक विज्ञप्ति जारी गर्दै पार्टी औपचारिक रूपमा दर्ता भएको जानकारी गराइएको हो।
राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्ने र शुभेच्छुक राख्ने सम्पूर्णप्रति पार्टीले कृतज्ञता व्यक्त गरेको छ। सनातन धर्म, राजसंस्था र प्रजातन्त्रका आधारस्तम्भमा हिमाल, पहाड र तराईलाई एकताद्ध राखेर आम नेपाली जनताको प्रेरणाबाट राष्ट्रिय गौरव र ऐतिहासिक विरासत नवपुस्ता तथा भावी पुस्तामा हस्तान्तरण गर्ने पार्टीको प्रण रहेको छ।
देशमा स्थिरता र आर्थिक समुन्नति हासिल गर्नु पार्टीको मुख्य लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ। पार्टी दर्तासँगै आजैका दिनबाट संगठन निर्माणको क्रम प्रारम्भ गरिएको छ। केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठनहरू क्रमिक रूपमा विस्तार गरिनेछ। साथै, राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पुनर्संरचना, भ्रष्टाचारको न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ्न हार्दिक आह्वान गरिएको छ।
विशेष गरेर आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई सम्पर्क गर्न र पार्टीमा आबद्ध भएर तयारीसाथ अघि बढ्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved