राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै "राणा परिवार राजसंस्था विरोधी हुन्" वा "राणाका सन्तानले देशमा राजसंस्था फर्केको देख्न चाहँदैनन्" जस्ता कपोलकल्पित आरोपहरू लगाइरहेको सुनिन्छ। तर, यस्ता आधारहीन टिप्पणी गर्नेहरूले इतिहासको निर्मम सत्य र शाह-राणाबीचको गहिरो वंशीय सम्बन्धलाई पूरै बिर्सिरहेका छन्। स्मरण रहोस्, नेपालका राजाहरू र राणा परिवारबीचको वैवाहिक सम्बन्ध शताब्दीऔंसम्म जोडिएको अटुट माला हो।
स्वर्गीय राजा महेन्द्रका धर्मपत्नीहरू—महारानी इन्द्रराज्य लक्ष्मी र बडामहारानी रत्नराज्य लक्ष्मी—दुवै प्रख्यात राणा परिवारकै, अर्थात् श्री ३ महाराज हरि शमशेर जङ्गबहादुर राणाका छोरीहरू हुनुहुन्थ्यो। यसैगरी राजपरिवारका अन्य प्रमुख सदस्यहरू, राजा ज्ञानेन्द्रकी पत्नी बडामहारानी कोमल राज्य लक्ष्मी शाह तथा स्वर्गीय राजा वीरेन्द्रकी पत्नी महारानी ऐश्वर्या राज्य लक्ष्मी शाह र स्वर्गीय प्रिन्स धीरेन्द्र शाहकी पत्नी प्रिजेक्ष्या राज्यलक्ष्मी देवीसहित शाहवंशका अधिकांश प्रमुख रानीहरू राणाकै छोरीहरू हुन्।
तसर्थ, स्वर्गीय राजा वीरेन्द्र, राजा ज्ञानेन्द्र र स्वर्गीय युवराज धीरेन्द्र पनि राणाकै छोरीहरूको कोखबाट जन्मिनुभएको हो भने युवराज पारस शाह, स्वर्गीय युवराज दीपेन्द्र र राजकुमार निराजन शाहलगायत राजपरिवारका तमाम सन्ततिहरूमा प्रत्यक्ष रूपमा यही राणा वंशकै रगत र अंश बगिरहेको छ।
२००७ सालअघिको राणा शासनकालको राजनीतिक व्यवस्था र शासकहरूको प्रवृत्ति आफ्नो ठाउँमा होला, तर "पहिलेका राणाहरू शासक थिए" भन्दैमा आजका सम्पूर्ण राणा परिवारलाई एकै डालोमा हालेर हेर्नु र पूर्वाग्रही बन्नु सरासर गलत हो। अझ भन्ने हो भने, राणाहरूले नेपालमा राजाहरू नरहुन् भनेर कहिल्यै सोचेका थिएनन्। उनीहरूले आफैं शासन व्यवस्था चलाएका भए पनि राजगद्दीमा सधैं शाहवंशकै राजालाई राख्थे। यसको ज्वलन्त उदाहरण २००७ सालको राजनीतिक घटनाक्रम हो; जब राजा त्रिभुवन परिवारसहित भारततर्फ जाँदा उहाँहरूले राजदरबारमै रहेका नाबालक राजकुमार ज्ञानेन्द्र शाहलाई नै नेपालको राजा घोषणा गरेका थिए।
यसबाट पनि स्पष्ट हुन्छ कि राणाहरुले राजगद्दी खाली नहोस् र शाहवंशको गरिमा कायम रहोस् भन्ने चाहन्थे, जसले उनीहरू राज विरोधी थिएनन् भन्ने पुष्टि गर्छ। उनीहरूले तत्कालीन समयमा शासनसत्ता आफ्नो हातमा लिन चाहेका होलान्, तर राजसंस्था र शाहवंशप्रतिको मर्यादामा आँच आउन दिएका थिएनन्।
यसरी अन्तर्विरोधी आलोचना दिएर राजनीतिक वा दलीय कुण्ठाको आवेगमा आएर एक शालिन व्यक्तित्व डा. धवल शमशेर राणा वा अन्य कुनै राणा परिवारका व्यक्तिलाई गाली गर्दा आलोचना गर्नेहरू आफैं अन्धो भइरहेका छन्। किनकि, राणा परिवारलाई गाली गरिरहँदा उनीहरूले अप्रत्यक्ष रूपमा हाम्रै प्यारा राजाहरू, आदरणीय राजाहरूकी महारानीहरू, राजमाताहरू र उहाँकै राजवंशीय सन्ततिहरूमाथि नै प्रहार गरिरहेका छन्।
तसर्थ, कुनै पनि राजनीतिक पूर्वाग्रह वा पार्टीगत कुण्ठामा बगेर बोल्नुअघि इतिहासको धरातल, पारिवारिक सम्बन्ध र मर्यादालाई ख्याल गर्न अति आवश्यक छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved