काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको नारायणहिटी दरबार परिसरको महेन्द्र मञ्जिलमा परिवारका सदस्यहरूका बीच आज शाहको जन्मोत्सव मनाउने कार्यक्रम रहेको छ। यस्तै उहाँका शुभचिन्तकहरूले पनि विभिन्न ठाउँमा उहाँको जन्मोत्सव मनाउने कार्यक्रम तय भएको छ।
मुमाबडामहारानी शाहलाई ९८ औं जन्मोत्सवको शुभकामना दिन राजपरिवारका सदस्यहरू महेन्द्र मञ्जिलमा जाने कार्यक्रम तय भएको छ। वि.सं. १९८५ भदौ ४ गते जन्मनुभएकी रत्न २०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुनुहुन्थ्यो।
उहाँ राजा महेन्द्र वीर विक्रम शाहकी दोस्री पत्नी हुनुहुन्छ। उहाँकी आफ्नै दिदी इन्द्रराज्य लक्ष्मी देवी शाहले वि.सं. १९९६ मा राजा महेन्द्रकी जेठी श्रीमतीको रूपमा विवाह गर्नुभएको थियो। तर, वि.सं. २००७ भदौ १८ मा उहाँको निधन भएपछि रत्नले दुई वर्ष, अर्थात् वि.सं. २००९ सालमा महेन्द्रसँग विवाह गर्नुभएको थियो। विशेष, मुमाबडामहारानी रत्नको जन्मदिन (भदौ ४ गते) का दिन नेपालमा राष्ट्रिय बाल दिवस मनाउने गरिन्थ्यो। तर, पछिल्ला केही वर्षयता भने बाल दिवस भदौ २९ गते मनाउन थालिएको छ।
नेपालमा गणतन्त्र प्राप्तिपछि राजतन्त्रको अन्त्य भए पनि उहाँ हाल नारायणहिटी दरबार परिसरभित्रै रहेको महेन्द्र मञ्जिलमा एकान्त जीवन बिताइरहनुभएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved