काठमाडौं — तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र भीषण बाढीले रसुवा बजार र आसपासका बस्ती पूर्ण रूपमा बगाएको छ। बाढीको वितण्डामा परी कार्यक्षेत्रमा खटिएका ३० भन्दा बढी नेपाल प्रहरीका जवानसहित सयौंको सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार बाढीसँगै आएको लेदो र पहिरोले रसुवाको टिमुरे बजार, सीमा प्रहरी चौकी, भन्सार कार्यालय, पसल, होटल र दर्जनाैँ सवारीसाधन पूर्ण रूपमा बगाएर लगेको छ। बजार रहेको स्थानमा अहिले भोटेकोशी खोला बगिरहेको छ भने बेपत्ता सुरक्षाकर्मी र स्थानीयको खोज तथा उद्धारमा भीषण बाढी र कटानका कारण कठिनाइ भइरहेको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको यो अकल्पनीय बाढीका कारण नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ।
बाढीले नुवाकोटको त्रिशूली र ढुंगे बजारका घरहरू तथा पुलहरूसमेत बगाएको छ। जोखिमलाई ध्यानमा राख्दै काठमाडौं–नागढुङ्गा, पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ र गल्छी–स्याफ्रुबेसी सडकखण्डमा सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। गृह मन्त्रालय र स्थानीय प्रशासनले तटीय क्षेत्रका सबै बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्दै आपत्कालीन उद्धारका लागि टोल फ्री नम्बर १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved