काठमाडौं । चीनतर्फ भोटेकोशी नदी थुनिएर बनेको ताल पूर्ण रूपमा नखुलिएकाले रसुवा, नुवाकोटसहित त्रिशूली तटीय क्षेत्रमा फेरि भीषण बाढी आउन सक्ने उच्च जोखिम कायमै रहेको छ।
चीनतर्फबाट प्राप्त पछिल्लो सूचनालाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले तटीय क्षेत्रमा पुनः बाढीको ठूलो खतरा रहेको सतर्क गराएका हुन्।
प्राधिकरणका अधिकारीका अनुसार चिनियाँ पक्षले दिएको जानकारीअनुसार फुटेको भनिएको क्षेत्रमा अझै पनि ७ मिटर अग्लो ड्याम (पानी थुनिएर बनेको ताल) बाँकी नै छ। उक्त ड्याम जुनसुकै बेला फुटेर थप आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा, उद्धारकर्मी र राहत वितरणमा खटिएका टोलीहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ।
बाढीको जोखिम कायमै रहेकाले अर्को आधिकारिक सूचना जारी नभएसम्म नदी किनारबाट टाढा र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ। तटीय क्षेत्रमा खटिएका सुरक्षाकर्मी र उद्धार टोलीहरूलाई पनि सतर्कताका साथ कार्यक्षेत्रमा जुट्न निर्देशन दिइएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved