काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताउदै मृतकहरूका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क र छिटो उपचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले सरकार घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको उद्धारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोजी तथा राहतलाई तीव्र बनाउने निर्णय गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिए । सुरक्षाकर्मीले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले बताए ।
घाइतेहरूको सहज र निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको उनले जानकारी दिए । उपत्यकाका अन्य ठूला अस्पताललाई समेत घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।
सरकारले प्रभावित क्षेत्रमा मेडिकल टिम, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको प्रधानमन्त्री शाहले बताए । नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतका निकायबाट समेत चिकित्सक र उद्धारकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए ।
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् ।
प्रभावित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधी तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्याइने उनले बताए । बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको प्राथमिकताका साथ पुनर्निर्माण गरिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनको भनाइ छ ।
‘घाइते नागरिकहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै अहिलेको पहिलो प्राथमिकता हो,’ प्रधानमन्त्री शाहले भने । उनले बाढी प्रभावित नागरिकहरूलाई राज्य आफ्ना सम्पूर्ण साधनस्रोतसहित साथमा रहेको भन्दै धैर्य गर्न आग्रह गरेका छन् । साथै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत र उद्धार अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।
प्रधानमन्त्री शाहले बाढीमा हराइरहेका नागरिकको खोजीलाई अझ तीव्र बनाइने र आज रातभर पनि उद्धार कार्य जारी रहने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved