हेटौँडा । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्षिक कार्यक्रमहरूप्रति विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको पूर्ण तथा विशेष ध्यानाकर्षण भएको छ । क्याम्पसमा सञ्चालित कार्यक्रमतर्फ विद्यार्थीहरूको उच्च प्रवाह तथा अभूतपूर्व घुइँचो देखिएको छ ।
पछिल्लो समय यस क्याम्पसमा बी.आई.टी., बि.बि.ए., होटेल म्यानेजमेन्ट, बि.ए.एल.एल.बी., एल.एल.बी. बि.एड.जस्ता स्नातक तहका कार्यक्रमहरूको पठनपाठन समेत सेमेष्टर प्रणाली अनुसार हुँदै आएको छ । यसैक्रममा शैक्षिक सत्र २०३÷०४ (२०२६ ब्याच) का लागि प्रथम सेमेस्टरको निर्धारित कोटाको भर्ना कार्य पूरा भइसकेको हुँदा क्याम्पसले बि.बि.ए., होटेल म्यानेजमेन्टको नयाँ भर्ना बन्द गरिएको औपचारिक सूचना जारी गरेको छ ।
पछिल्लो समय हेटौँडा क्याम्पस एक प्रमुख शैक्षिक गन्तव्यको रूपमा विकसित हुँदै गएको छ । यस क्याम्पसमा अध्ययनका लागि नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रहरूबाट विद्यार्थीहरू आउने क्रम तीव्र रहेको छ । जसका कारण क्याम्पसमा भर्ना पाउन निकै प्रतिस्पर्धात्मक र कठिन बनेको छ । प्रवेश परीक्षा उत्तीर्ण गरेका थुप्रै विद्यार्थीहरू भए पनि विश्वविद्यालयको कोटा प्रणाली तथा सीमित सिट क्षमताका कारण सबैलाई समावेश गर्न नसकिएको क्याम्पसले जनाएको छ ।
मेरिटोक्रेसीका आधारमा भर्ना लिँदा बागमती विश्वविद्यालयको सीमित कोटाका कारण धेरै विद्यार्थीहरू छुट्न पुगेका छन् । विश्वविद्यालयको आंगिक हेटौँडा क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले प्रवेश परीक्षा पास गरेका धेरै विद्यार्थीहरूलाई कोटा प्रणालीका कारण सिटभित्र समेट्न नसकिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
धेरै विद्यार्थी तथा अभिभावकहरू आफू कोटाभित्र पर्न नसकेकोमा दुःखी महसुस गरिरहेका छन् । क्याम्पसले यसबाट सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूलाई पर्न गएको असहजताप्रति ध्यानाकर्षण भएको जनाउँदै आगामी शैक्षिक सत्रमा विद्यार्थीहरूकोलागि थप कोटा वृद्धि गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved