नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् त्रिशुली नदी किनारका बासिन्दा तथा उद्धार कार्यमा खटिएका टोलीलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको क्षेत्रमा पुनः तिब्बततर्फ पानीको इयाम फुटेको र लेदोसहितको पानीको बहाव बढेको सूचना प्राप्त भएपछि थप बाढी आउन सक्ने जोखिम सिर्जना भएको हो।
प्राधिकरणका प्रवक्ता/उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्ति तथा नेपाल प्रहरीको सूचना अनुसार, जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारण, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीहरूलाई तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जान र अन्यलाई पनि सतर्क गराउन आग्रह गरिएको छ।
जोखिम क्षेत्रमा खटिएका तथा बसोबास गर्ने सबैलाई सम्भावित दुर्घटनाबाट बच्न पूर्वतयारीका साथ सुरक्षित रहन प्राधिकरणले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved