लिङ्देनको उदय, थापाको बहिर्गमन, राजनीतिक उथलपुथलको वर्ष २०७८

यो वर्ष दोस्रो पटक प्रतिनिधिसभा विघटन र बदर मात्रै भएन, कांग्रेसबाहेकका सबै राजनीतिक दलमा विभाजन आयो, प्रमुख राजनीतिक दलले आफ्नो महाधिवेशन पनि यही वर्

  • चैत ३०, २०७८
  • कालापानी मिडिया
alt

आज २०७८ सालको अन्तिम दिन । नेपालको राजनीतिक इतिहासमा २०७८ निकै उतारचढावपूर्ण बन्यो । राजनीतिक उथलपुथलका कारण सर्वोच्च अदालत र प्रधानन्यायाधीश र सिङ्गो न्यायालय समेत विवादरहित बन्न सकेन । संसद् विघटनदेखि पुनर्स्थापनासम्म तथा पार्टीहरू विभाजन हुनेदेखि विवादित एमसीसी अनुमोदन र चुनाव घोषणासम्म यस वर्षका महत्त्वपूर्ण परिघटना हुन पुगे । साथै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि महाभियोग र गभर्नर महाप्रसाद अधिकारीको निलम्बन पनि यस वर्षका सम्झनलायक घटनाका रूपमा चित्रित भए ।

१- प्रतिनिधि सभाको हठात् विघटन

२०७८ सालको सुरुबाटै नेपाली राजनीतिमा राजनीतिक उतारचढावको शृङ्खला सुरु भयो । वर्षका प्रमुख राजनीतिक परिघटनामा प्रतिनिधिसभाको हठात् विघटन, त्यसविरुद्धको आन्दोलन र सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनर्स्थापना महत्त्वपूर्ण घटना बन्न पुगे । जेठ ७ गते मध्यरात प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गर्दै कार्तिक २६ र मङ्सिर ३ गते निर्वाचन मिति तोकिन् । सरकार र राष्ट्रपतिको सो कदम संविधानविपरीत भएको भन्दै राजनीतिक दलहरूले आन्दोलन चर्काए । साथै उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भए ।

विघटनको विरोधमा नेपाली काँग्रेस माओवादी केन्द्र, जसपा, जनमोर्चा र एमालेकै माधव नेपाल समूह सडकमा उत्रिए । विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई थालेका राजनीतिक दलहरू संसद् पुनर्स्थापनाको मुद्दासहित सर्वोच्च अदालतसम्म पुगे । असार असार २७ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटनको निर्णय खारेज गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्‍यो । विघटनविरुद्ध काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले सर्वोच्च अदालतमा रिट दायर गरे । उक्त रिटमा सर्वोच्चले संवैधानिक सुनुवाइ गर्दै प्रतिनिधि सभा पुनर्स्थापना मात्रै गरेन, काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश नै जारी गर्‍यो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले करिब एक महिना सुनुवाइ गरेपछि प्रतिनिधि सभा विघटन बदर गरेको हो ।

२- ओली ‘आउट’ देउवा ‘इन’

प्रतिनिधि सभा पुनर्स्थापना भएको दुई दिनपछि असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको नयाँ प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गरिन् । सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ ९५० अनुसार देउवा प्रधानमन्त्री पदमा नियुक्त भएपछि असार २९ साँझ देउवाले प्रधानमन्त्रीका रूपमा शपथ लिए । प्रधानमन्त्रीको शपथमा राष्ट्रपतिले संविधानको धारा उल्लेख नगरेपछि शपथमै लफडा भयो । लफडापछि संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री देउवाले शपथ लिएकै दिन उनले चारजना मन्त्रीहरू पनि नियुक्त गरे । सुरुमा काँग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बने भने नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा भित्रिए । पछि पटक पटक देउवाले मन्त्रिमण्डल विस्तार गरेका थिए । केन्द्र सरकारबाट ओली हटेर देउवा आएसँगै प्रदेश प्रमुख र प्रदेश सरकारहरू पनि परिवर्तन भए । यही क्रममा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरू परिवर्तन भए ।

३-गैर सांसद मन्त्री, विरोधपछि राजीनामा

प्रधानमन्त्री शेरबहादुर देउवाले गैर सांसद गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका थिए । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटामा मन्त्री बनाएको भन्दै चर्को विरोध सुरु भयो । चौतर्फी विरोध भएपछि मन्त्री हमाल पदबाट राजीनामा गर्न बाध्य भए । असोज २२ गते मन्त्रीमा नियुक्ति पाएर शपथ खाएका हमालले असोज २४ गते पदबाट राजीनामा दिनुपरेको थियो ।

राजीनामा दिँदै उनले विभिन्न सञ्चार माध्यम र काननविद्हरूले नियुक्तिबारे गरेका टिप्पणीले आफूलाई अन्याय भएको बताएका थिए । हमालले राजीनामा गरेको ६ महिनापछि चैत अन्तिममा प्रधानमन्त्री देउवाले गैरसांसद गोविन्द बन्दीलाई कानुन मन्त्री बनाए ।

४-एमाले र जसपा विभाजन

देउवा नेतृत्वको सरकार बने पनि राजनीतिक उतारचढाव कायमै थियो । त्यसै क्रममा सरकारले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्यायो । ४० बाट २० प्रतिशत बनाएर खुकुलो प्रावधानमार्फत पार्टी विभाजन गर्ने अध्यादेश ल्याएकाले नेकपा एमाले र जनता समाजवादी (जसपा) औपचारिक रूपमा विभाजन हुन पुगे ।
एमालेबाट माधव नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबाट महन्त ठाकुर लगायतका नेताले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे । नेपाल र ठाकुरहरूले भदौ २ मा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा ९ मा आयोगले मान्यता दियो र अलग पार्टीका रूपमा दर्ता भए । जसपाको मान्यता उपेन्द्रले नै पाए । २०५४ सालमा पहिलो पटक विभाजित भएको एमाले २०७८ मा पुन दोस्रो पटक विभाजनको रेकर्ड राख्न पुग्यो ।

५-लिङ्देनको उदय, थापाको बहिर्गमन

राजावादी पार्टी राप्रपाको महाधिवेशन पनि यही वर्ष भयो । महाधिवेशनमार्फत सांसद समेत रहेका राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी बने । लिङ्देन विजयी बन्दा नेपाली राजनीतिका चतुर खेलाडी भनेर चिनिएका कमल थापा पराजित भएर राप्रपामा लिङ्देन उदय भएपछि थापा र लिङदनेबीच मनमुटाव सुरु भयो । मङ्सिरमा भएको महाधिवेशनपछि थापा र लिङ्देनबीच सुमधुर सम्बन्ध हुन सकेन । सोही कारण फागुन १ मा कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याए । लिङ्देनले १ हजार ८४४ मत पाउँदा थापाले १ हजार ६१७ मत पाएका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई हराउन भूमिका खेलेको बताएका थापाले फागुन १ मा लाक्पा शेर्पा नेतृत्वको राप्रपा नेपालको अध्यक्ष बनेका थिए । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा थापाले पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी भएको थियो ।

६- प्रमुख दलको महाधिवेशन, अध्यक्षमा पुरानै अनुहार
२०७८ को मङ्सिर र पुस महिना पार्टीहरूको महाधिवेशन महिनाका रूपमा दरियो । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाको महाधिवेशन तिनै महिनामा भए र नयाँ नेतृत्व छाने । काँग्रेस, एमाले र माओवादीबाट पुरानै अध्यक्ष देउवा, ओली र प्रचण्ड अध्यक्षमा दोहोरिए । मङ्सिर १०–१४ चितवनमा भएको एमालेको दसौँ महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्ष छान्यो । एमाले अध्यक्षमा प्रत्याशी बनेका अर्का नेता भीम रावल पराजित बन्न पुगे । त्यसै गरी नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा पुन दोस्रो कार्यकाल सभापति निर्वाचित भए । मङ्सिर महिनामै भएको काँग्रेस महाधिवेशनको मतदानमा देउवा दोस्रो पटकको मतदानबाट २७२४ मत प्राप्त गर्दै विजयी बन्न पुगे । देउवाका प्रतिद्वन्द्वी डा। शेखर कोइरालाले १८१७ मतमात्र प्राप्त गरेका थिए ।

सभापतिका पाँच जना प्रतिस्पर्धीमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुन भएको मतदानमा देउवा र डा.शेखर कोइरालााबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा सभापतिका उम्मेदवार बनेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सघाउन पुगेका थिए । यही वर्ष राप्रपाको महाधिवेशन भयो र राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित हुँदा कमल थापाले हार बेहोरे ।

७-चोलेन्द्रमाथि महाभियोग 

राजनीतिक उतारचढाव र खिचातानीको असर सर्वोच्च अदालतलाई पनि पर्‍यो । जसका कारण २०७८ मा अदालत समेत विवादरहित हुन सकेन । फलस्वरूप प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि कार्यपालिकामा भागबण्डा खोजेको र दलहरूमाथिका मुद्दा सेटिङमा फैसला गर्न लागेको सङ्केत बुझ्दै राजनीतिक दलहरूले संसद्मा महाभियोग प्रस्ताव दर्ता गरे ।

सत्तारूढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता गराए । राणामाथि मन्त्रिमण्डलमा भागबन्डा खोजेको आरोप लागेपछि उनलाई राजीनामा दिन चौतर्फी दबाब र सुझाव परेको थियो । त्यसक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरूले नै लामो समय इजलास बहिस्कार गरेर प्रधान उनको राजीनामा मागेका थिए । नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीशको राजीनामा र महाभियोगको माग गर्दै लामो समय आन्दोलन चर्कायो । तर प्रधान न्यायाधीश राणाले राजीनामा दिएनन् बरु महाभियोगको सामना गर्न तयार रहेको सन्देश दिए । राणामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बने । राणामाथिको महाभियोग प्रस्ताव अहिलेसम्म पनि पारित भने भइसकेको छैन ।

८- निर्वाचन मिति घोषणा 

शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले माघ २४ गते २०७९ साल बैशाख ३० गते एकै दिन सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्‍यो । स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेमा दलहरुबीच विवाद भैरहेका बेला माघ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले ३० वैशाख २०७९ मा निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको मिति घोषणासँगै आयोगले निर्वाचनको तयारी गरिरहेको छ । यद्यपि निर्वाचन सार्ने षड्यन्त्र भइरहेको प्रमुख प्रतिपक्ष दल एमालेले सरकारमाथि आरोप लगाउन छाडेको छैन ।

९- गठबन्धन जोगाउन एमसीसी अनुमोदन

चर्को विवाद र मतभेदकैबीच अमेरिकी सहयोग (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भयो । एमसीसीका केही प्रावधानबारे दलहरुबीच नै लामो समयदेखि विवाद भएपछि अघि बढ्न सकेको थिएन । तर सत्ता गठबन्धन र सरकार जोगाउने नाममा १२ बुँदे व्याख्यात्मक घोषणसहित उक्त अमेरिकी सहयोग रकम प्रतिनिधि सभाबाट अनुमोदन गरेर दलहरूले स्वीकार गरे । फागुन १५ गते प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गर्नुअघि नै दलहरुबीच व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति भएको थियो । यद्यपि एमसीसीका कारण सत्तारुढ दलमै मनमुटाव भने सिर्जना हुन पुग्यो । अझै केही साना दलले एमसीसीको अनुमोदन खारेज हुनुपर्ने माग गरिनै रहेका छन् । ‘व्याख्यात्मक घोषणा’मा नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आबद्ध भएको मानिने छैन भनिनुका साथै नेपालको संविधानभन्दा माथि एमसीसी नहुने भनियो ।

१०. गभर्नर निलम्बन
वर्षको अन्तिममा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्‍यो । चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।

गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको सरकारको आरोप छ । त्यसको छानबिन गर्न सरकारले तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको पदमुक्त सम्बन्धी व्यवस्था राखिएको छ ।
रातोपार्टी बाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved